काठमाडौं– एमालेका युवा नेता ऐन महरको जाहेरीमा बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन्। अदालत परिसरमा उनले विष सेवन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसूरको आरोप छ। महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो।
बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने-सामुने भएकी थिइन्। प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो। उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो।
सँगै रहेकी न्यायाधीश भुवन गिरी पत्नी आरतीले अस्पतालमा नाम टिपाउने क्रममा उनी रश्मिला धामी भएको पहिचान खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।