जनकपुरधाम– महिला क्रिकेटमा इतिहास रच्न विशेष योगदान पुर्याएको भन्दै नेपाली टीमकी कप्तान पूजा महतोलाई आज गृहनगरमा भव्य स्वागत गरिएको छ।
कप्तान महतो महोत्तरीकी हुन्। उनी गृहजिल्ला पुग्दा महोत्तरी क्षेत्र नम्बर १ का सांसद लक्ष्मी महतो, गौशाला नगरपालिकाका नगर प्रमुख दिपेन्द्र महतो, उपप्रमुख रेणु महतो र नगरबासीले भव्य स्वागत गरेका हुन्।
उनलाई साँसद लक्ष्मी, नगरप्रमुख दिपेन्द्र र उपप्रमुख रेणु तथा नगरबासीले बधाई दिँदै अगामी दिनमा अझ सफलता प्राप्त गर्ने आशीर्वाद दिएका छन्। कप्तान महतोलाई गाडीमा राखेर नगरबासीले नगरपरिक्रमा गराउन लागेका छन्।
पूजाको कप्तानीमा रहेको टीमले यूएईलाई हराउँदै आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि जित्न सफल भएको छ। योसँगै च्याम्पियनको हैसियतमा नेपालले अगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकप र डिसेम्बरमा मलेसियामै हुने यू–१९ महिला एसिया कप खेल्न अवसर पाउनेछ।
यू–१९ महिला टिमले विश्वकपमा स्थान बनाउन सफल भएपछि कप्तान महतो एकाएक चर्चामा आएकी हुन्। मैदानमा ब्याट र बल दुबैमा अब्बल देखिएकाले देशभर उनको प्रशंसा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।