काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले १५ दिन भित्र बिजुलीको बक्यौता तिर्न उद्योगीहरुलाई ताकेता गरेको छ। बिहीबार सूचना जारी गर्दै प्राधिकरणले मंसिर १२ गते भित्र बक्यौता तिर्न ताकेता गरेको हो।
प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिन भित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ।
सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ।
मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ।
डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो। तर कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो।
कात्तिक २७ गते प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले अधिकांश उद्योगहरुमा लाइन जोडिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।