काठमाडौं– १९ वर्ष मुनिको महिला टी–२० फर्म्याटमा नेपालले उच्च स्कोरको रेकर्ड तोडेको छ। मंगलबार यू–१९ महिला विश्वकप एसिया क्वालिफायरमा नेपालले कुवेतविरुद्ध उच्च स्कोर बनाएको हो।
कुवेतविरुद्ध नेपालले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै २१३ रनको विशाल स्कोर खडा गरेको हो। यसअघि उच्च स्कोर भुटानविरुद्ध यूएईको थियो।
सन् २०२२ मा भएको एसिया क्वालिफायरमा यूएईले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै २०२ रन बनाएको थियो।
नेपालको उच्च स्कोरका लागि कप्तान पूजा महतोले ५७ बलमै १२ चौकाको सहयोमा विष्फोटक शतक प्रहार गरिन्। खेलको अन्त्यसम्म उनले ६९ बल खेल्दै नटआउट १३० रनको इनिङ्स खेलिन्।
सोनी पाख्रिनेले पनि ३३ बलमा नटआउट ४३ रन बनाइन्। पूजा महतो यो उमेर समूहमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेकी छिन्। यस्तै महिला क्रिकेट इतिहासमा भने उनी शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेकी छिन्।
यस्तै आजकै खेलमा नेपालको उच्च स्कोरको पाट्नरसिपसमेत भएको छ। पूजा महतो र सोनी पाख्रिनले नटआउट १५७ रनको साझेदारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।