बैतडी– बैतडीमा चिर्पटले हिर्काउँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–२ छेपट्टामा ३० बर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको टाउकोमा चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ।
घरायसी विवादका कारण दिपाले सुनिताको टाउकोमा चिर्पटले हिर्काएपछि सुनिताको घटनास्थलमै मृत्यु भएको हो। सोमबार राति ८ बजेको समयमा जेठानी दिपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएको र उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। चिर्पटले हानेर देवरानीको हत्या गर्ने दिपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक पाण्डेयले बताए।
घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको र घटनास्थल बुझ्ने कार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।