काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिका सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। बिहीबार टोली फर्किएको हो।
त्रिभुवन विमानस्थलमा कप्तान रोहितकुमार पौडेलले क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको प्रतिक्रिया दिएका छन्। यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने उनको भनाइ छ।
‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेषगरी क्यानडामा राम्रो भएन। अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्यौं । टुरलाई समग्रमा भन्दा हामीले मिसआउट गर्यौँ’, उनले भने।
नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो। जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो।
दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो। ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो।
नेपाली टिमको कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए। खेलाडीले राम्रो खेलेको भए पनि नतिजा भने नआएको बताए। ‘नतिजा आउनका लागि बेटर भन्दा बेटर क्रिकेट खेल्नुपर्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।