काठमाडौँ- संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिका लागि भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्मको मत गणना अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्।
ट्रम्पले १०१ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले ७१ स्थानमा अग्रता लिएको सञ्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो।
निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र डेमेक्र्याटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ। केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ।
कमला ह्यारिसका समर्थकहरू वासिङ्टन डीसीको हावर्ड विश्वविद्यालय बाहिर भेला भइरहेका छन्। कमला ह्यारिसले यही विश्वविद्यालयबाट अध्ययन गरेकी हुन् र आजको चुनावी रात्रि पार्टीको स्थल पनि त्यहीँ तय भएको छ।
डोनाल्ड ट्रम्पको चुनावी पार्टीको लागि मिडिया कार्यक्रम स्थलमा तयार छन्। समर्थक र राष्ट्रका नाममा सम्भावित सम्बोधनका लागि मञ्च बनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।