काठमाडौं–आईसीसी विश्वकप लिग २ अन्तर्गत सातौं संस्करणमा नेपालले अमेरिकालाई २८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
नेपालले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २८६ रनको योगफल तयार पारेको हो। नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेले। ७५ बलको सामना गरेका उनले ९६ रनको उत्कृष्ट पारी खेले।
शतक बनाउनबाट उनी मात्र चार रनले चुके। रोहितले आठ चौका र तीन छक्का प्रहार गरे। यस्तै अनिल साहले ५६ रनको अर्धशतकीय पारी खेले। ६२ बलमा उनले पाँच चौकाको प्रहार गरेका हुन्।
नेपालका अर्का ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले। उनले सात चौका र एक छक्काको सहयोगमा ५२ रन जोडे। आरिफ शेखले ३७ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले १३ तथा कुशल भुर्तेलले ११ रन जोडे। सन्दीप लामिछाने ५, सोमपाल कामी २, करण केसी ३, गुल्शन झा १ रनमा आउट हुँदा ललीतराज वंशी १ रनमा नटआउट रहे।
अमेरिकाका लागि नोस्थुज केएन्जीले सर्वाधिक चार विकेट लिँदा सौरभ नेत्रभलकरले २, स्याड्ली भान सहल्यक, हरमित सिंह र जसदीप सिंहले एक/एक विकेट लिए।
टस जित्दै पहिला अमेरिकाले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।