काठमाडौं– साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। भारतलाई नेपालले पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।
निर्धारित समयमा दुवै पक्षबाट एक/एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो। तर पेनाल्टीमा भारतको दुई बल नेपालकी गोल किपर अन्जना रानामगरले रोकेपछि जित निकालेको हो। खेल पेनाल्टीमा जाने निश्चितजस्तै देखिएपछि किपर एन्जिला तुम्वाहाङ्फेलाई बाहिर ल्याएर पेनाल्टीका लागि नेपालले अन्जनालाई भित्र्याएको थियो।
यसअघि दोस्रो हाफको ७१ औं मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको थियो। लगत्तै नेपालले गोल गरे पनि मान्यता नपाउँदा करिब एक घण्टा खेल रोकिएको थियो।
तर खेल सुरु भएपछि नेपालकी स्टार सावित्रा भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याइन्। त्यो खोलपछि सावित्राले जर्सी नै खोलेर सेलिब्रेसन गरेकी थिइन्।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेश आजै भुटानलाई हराउँदै फाइनलमा पुगिसकेको छ। पाँच पटकको विजेता भारतलाई हराएको नेपालले यो दोस्रोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।