एजेन्सी– भारतले यस महिना भारतीय एयरलाइन्समा बम राखिएको सयौँ चेतावनीले हवाई यात्रालाई प्रभावित बनाएको बताउँदै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई ‘परिणामी कारबाही’ गर्ने चेतावनी दिएको छ।
बमको चेतावनीपछि भारतीय विमानहरू गन्तव्यबाट क्यानाडा र जर्मनीतर्फ जान बाध्य भएका थिएभने र विमानलाई लडाकु विमानले बेलायत र सिङ्गापुरमाथिको आकाशमा पहरा दिएका थिए।
सरकारले चेतावनीको सङ्ख्यामा देखिएको वृद्धि ‘अनियन्त्रित र जोखिमपूर्ण’ रहेको बताएको छ।
यदि उनीहरूले ‘गलत सूचना पठाउने कार्यलाई तुरुन्तै रोकेनन्’ भने प्रशासनले सामाजिक सञ्जाललाई ‘कानूनमा व्यवस्था भएअनुसार कारबाही’ गर्ने चेतावनी दिएको छ ।
“यस्ता भ्रामक चेतावनीको सङ्ख्याको वृद्धिले नागरिकको उडान र सुरक्षासम्बन्धी मनोबललाई असर गर्नुका साथै देशको आर्थिक सुरक्षालाई पनि अस्थिर बनाउँछ,” विज्ञप्तिमा भनिएको छ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार संस्थाका अनुसार अक्टोबरको मध्यदेखि अहिलेसम्म कम्तीमा २७५ वटा विमानमा बम विस्फोटको धम्की दिइएको छ । अन्य भारतीय सञ्चारमाध्यमका अनुसार यो सङ्ख्या ४०० को हाराहारीमा हुन सक्छ ।
लोकतान्त्रिक मुलुकका रूपमा चिनिने भारत सामाजिक सञ्जालका सामग्री हटाउन सरकारले गर्ने अनुरोधका आधारमा हेर्दा विश्वका शीर्ष पाँच मुलुकमध्ये एउटा हो।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको आलोचना गर्ने ट्वीट र एकाउन्टहरू हटाउने आदेशलाई चुनौती दिएका कारण गत वर्ष भारतीय अदालतले एक्सलाई ६१ हजार अमेरिकी डलर जरिवाना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।