दाङ- चिकित्सा शिक्षा आयोगले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ।
आयोगले कलेज म्याचीङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो। विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको रजिस्ट्रार श्याम लम्सालले बताए।
यसवर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन्।
चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ। जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताए। उनका अनुसार ४ जना विदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढन पाउने छन्। आयोगबाट आउने नामावलि अनुसार भर्ना हुनेछन्।
प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो। हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ।
अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उनले भने, “दाङको चिकित्सा शिक्षामा यसले ठुलो र महत्वपुर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक बिकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसेढुङ्गा सावित हुनेछ।”
यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो। तर, अब वर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ। राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।