काठमाडौं– अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्।
दोस्रो ओभरको चौथो बलमा करणले अमेरिकाका कप्तान मोनाङ्क पटेललाई क्लीन बोल्ड गर्दै पेभिलियन फर्काए। यसअघि नेपालले पहिला ब्याटिङ १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो। नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। ५४ बलको सामना गरेका उनले ९२ रन बनाए। त्यसक्रममा भुर्तेलले सात चौका र ६ छक्का प्रहार गरे।
यस्तै ओपनर अनिल साहले ३१ बलको सामना गर्दै चार चौका र एक छक्काको सहयोगमा २५ रन जोड्दा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए।
मात्र १२ बलको सामना गरेका गुलशन झाले १९ तथा करण केसीले ६ रन बनाए। ओपनर आशिफ शेख १ रनमा एलबीडब्लु धरापमा परे भने दीपेन्द्र सिंह ऐरी २ रनमा क्याच आउट भए। र आरिफ शेख एक रनमा रनआउट भए।
यता अमेरिकाका लागि नोस्तुज केन्जी र जसदीप सिंहले दुई/दुई विकेट लिँदा सौरभ नेत्रभालकरले एक विकेट लिए। खराब सुरुवात गरेको नेपालले तेस्रो नम्बरमा कुशल भुर्तेल क्रिजमा आएपछि आक्रामक अग्रता लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।