काठमाडौं – पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ।
जिल्ला प्रशासन कार्यालयले सुरक्षा दिन नमानेपछि नगर प्रहरीको प्रयास असफल भएको हो।
महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो। सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन्। उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए।
जिप्रकाले सुरक्षा उपलब्ध नगराए पनि नगर प्रहरीको टोली धर्मशाला खाली गराउन पुग्यो। धर्मशालामा महानगरको बोर्ड राख्न खोज्दा मारवाडी सेवा समितिले अवरोध गरेपछि नगरप्रहरी यत्तिकै फर्किएको हो।
काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो। त्यसपश्चात कोषले धर्मशाला सञ्चालन/व्यवस्थानको जिम्मा महानगरपालिकालाई दिने निर्णय गरी महानगरलाई पत्र लेखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।