एजेन्सी– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जूले आर्थिक सुधारका लागि १५ दिनभित्र विभिन्न मन्त्रालयमा भएको २२८ राजनीतिक नियुक्ति कटौती गर्न निर्देशन दिएका छन्।
यसमा सात राज्यमन्त्री, ४३ उपमन्त्री, १०९ वरिष्ठ राजनीतिक निर्देशक र ६९ राजनीतिक निर्देशक पनि पर्छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यसले सरकारी बजेटमा हरेक महिना ५.७१४ मिलियन आरएफ (माल्दिभ्सका मुद्रा) बचत हुनेछ।’
राष्ट्रपति चुनावका क्रममा मोइज्जूले राजनीतिक नियुक्तिलाई ७०० मा सिमित गर्ने बाचा गरेका थिए। तर राष्ट्रपचि भएपछि दुई हजारभन्दा बढी राजनीतिक नियुक्ति रहेको विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)को आरोप छ।
तर मंगलबार राष्ट्रपति मोइज्जूले ठूलो संख्यामा राजनीतिक नियुक्त कटौती गर्ने घोषणा गरेका छन् । विश्वबैंकले माल्दिभ्सको अर्थतन्त्र सुधार योजनाको प्रगति सुस्त भएको भन्दै चिन्ता व्यक्त गरेको एक साता पनि यो घोषणा भएको हो।
विश्व वैंकका अनुसार आर्थिक बृद्धिका बाबजुद बढ्दो सार्वजनिक ऋण, उच्च राजकीय खर्च र विशेषगरी सार्वजनिक क्षेत्रमा लगानी तथा अनुदान चिन्ताजनक छ। यो खर्च कम गर्न तत्काल आवश्यक कदम चाल्नुपर्ने विश्व बैंकको जोड छ।
यद्यपि अहिले कति राजनीतिक नियुक्ति छ भन्ने यकिन छैन, किनकी सरकारले सार्वजनिक गर्न अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।