काठमाडौं– हेटौंडा-कुलेखानी- फाखेल- सिस्नेरी सडक अन्तरगत सिमखोला, हेभि क्षेत्रमा सडकको अवस्था जिर्ण र जोखिमपुर्ण बनेपछि केही समयको लागि साना सबारीसाधनलाई कुलेखानी ड्यामबाटै संचालन गरिएको छ।
दशैँको टीकापछि हेटौंडा हुँदै काठमाडौं जाने सवारीको चाप बढेपछि आजबाट केही समयको लागि ड्यामबाटै सार्वजनिक सवारी खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार २०७२ सालको भुकम्पपछि ड्यामबाट सार्वजनिक सवारी बन्द गरिएको थियो।
‘अर्को सूचना जारी नभएसम्मको लागी सवारीसाधनको चापलाई मध्यनजर राखी हाललाई कुलेखानी ड्यामबाट निजी तथा सार्वजनिक हलुका सवारी साधन आवतजावतको व्यवस्था मिलाइएको जानकारी गराईएको छ’, कार्यालयले सामाजिक सञ्जालमार्फत् सूचित गरेको छ।
केही दिनअघि २ दिन निरन्तर झरी पर्दा कुलेखानी ड्याम खोलिएकाले हेटौंड-सिस्नेरी सडक बगाएको थियो। ठाउँ-ठाउँमा डाइभर्सन बनाएर सवारी सुचारु गरिएकोमा डाइभर्सन जीर्ण भएपछि ड्यामबाट सवारी आवागमन खुलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।