काठमाडौँ- चिनियाँ नागरिकको घरमा चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ।
उनीहरूले असोज २२ गते दिनको अन्दाजी २ बजेको समयमा काठमाडौँ महानगरपालिका- ३२ पेप्सीकोलास्थित अञ्जली ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चिनियाँ नागरिक ५७ वर्षीय लुओ जिया लियानको कोठाको ताला फोडेर लाखौँ रुपैयाँ बराबरको चोरी गरेका प्रहरीको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले फलामको लकरमा राखिएको नगद १९ लाख रुपैयाँ तथा सीसी क्यामेराको हार्डड्राईभ समेतका धनमाल चोरी गरेर फरार भएका थिए।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले १६ लाख ४९ हजार ७४० रुपैयाँ, चोरी गरेको फलामको सेफ, चोरी गरेको रकम बाट बाँडफाँड गरी उक्त रकमबाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल तथा ६ वटा मोबाइल बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।