काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ।
तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ।
ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेलगत्तै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई पुनः ताकेता गरेको हो।
यसअघि पनि प्राधिकरणले बक्यौता तिर्न अनुरोध गरेको थियो। तर केही उद्योगीहरुले बिजुली प्रयोग गरेबाफत्को बिल नदिएको भन्दै महसुल तिर्न मानेका थिएनन्।
प्राधिकरणले आज गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी बक्यौता महसुल नबुझाएका उद्योगहरुको नाम र उनीहरुले गणना सिट अनुसार बुझाउनुपर्ने थप दस्तुरसहितको बाँकी रकम समेत सार्वजनिक गरेर बक्यौता बुझाउन भनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।