काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ।
बालुवाटारमा संघका अध्यक्ष डा. बद्री केसीसहितको टोलीले प्रधानमन्त्री ओलीलाई उक्त रकम हस्तान्तरण गरेको हो।
अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो र डुबानले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको बताए। ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको केसीले गुनासो गरे।
प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा संघलाई धन्यवाद दिए। एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट गर्दै दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे। संघलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन उनले सुझावसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।