काठमाडौं– पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गराउन काठमाडौं महानगरपालिकाको टोली पुगेको छ।
वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेको हो।
महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आज १० बजेसम्म गौशालाको धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएको थियो।
लगत्तै वडाध्यक्ष सहितको टोली पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरुले विरोध गरेका छन्।
‘आज महानगरपालिकाले बोर्ड राख्न नगर प्रहरी सहितको टोली गौशाला पुग्दा उहाँहरुले विरोध गरिहरनुभएको छ’, प्रहरी उपरीक्षक अर्यालले भने, ‘सम्झौता भइसकेकाले खाली गरेर महानगरले सञ्चालन गर्छ।’
२० असोजमा पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को वैठकले गौशाला व्यवस्थापन गर्न महानगरलाई प्रस्ताव गरेको थियो।
मंगलबार बिहान नगर कार्यपालिकाले कोषको प्रस्ताव स्वीकार गर्दै सम्झौता गर्न अनुमति दियो।
सम्झौता अनुसार कोषको स्वामित्वमा रहेको धर्मशालाको घरजग्गामा महानगरले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्ने थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।