एजेन्सी– हेलेन नामक आँधीले हिर्काएको दुई हप्ता नबित्दै अर्को आँधीले फेरी फ्लोरिडालाई स्तब्ध बनाएको छ।
‘मिल्टन’ नाम दिइएको यो आँधीलाई अहिले क्याटेगोरी ५ मा राखिएको छ, जहाँ हावाको बेग १६५ माइल प्रतिघन्टासम्म हुन्छ। बुधबार राति आँधी उत्कर्षमा पुग्ने अधिकारीहरुले बताएका छन्।
ह्वाइट हाउसबाट मंगलबार सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यो आँधी शताब्दीकै ठूलो हुन सक्ने चेतावनी दिए।
राष्ट्रपति जोइ बाइडेनले मंगलबार फ्लोरिडाका मानिसहरुले उनीहरुको जीवन मरणको अवस्था रहेको भन्दै घर छोड्न चेतावनी दिएका थिएका हुन्। उक्त चेतावनीलगत्तै फ्लोरिडाका मानिसहरु कुम्लो कुटुरो बोकेर सुरक्षित स्थानतर्फ लागिरहेका छन्।
राज्यले समेत मानिसहरुलाई भगाउन सहयोग गरिरहेको छ। यसअघिका आँधीमा यस्तो भागाभाग भएको थिएन।
शहरमा इन्धनको समेत अभाव सुरु भएको छ। पेट्रोल स्टेसनहरुमा लामा लामा लाइनहरु छन्। केही पेट्रो स्टेसन बन्द भइसकेका छन्।
नेसनल हुरेकेन सेन्टरले हेलेनभन्दा मिल्टन आँधी भयानक हुन सक्ने जनाएको छ। हेलिन आँधीले सडकमा थुपारेका वस्तुहरु मिल्टनले हावामा उडाउन सक्ने र मानिसहरुलाई चोटपट लाग्न सक्ने सेन्टरको चेतावनी छ।
मंगलबारबाट अधिकांस काउन्टीहरुमा स्कुलहरु बन्द गरिएका छन्। टान्पा र ओर्लान्डोमाले आँधी नसकिएसम्म उडान स्थगित गर्ने घोषणा गरेका छन्।
नेसनल हुरिकेन सेन्टरले मिल्टन आँधी बुधबार राति अति नै खतरनाक हुने बताएको छ। यसले टाम्पा शहरको नजिक हान्नेछ जहाँको नगर क्षेत्रमा ३० लाखभन्दा बढी जनसंख्या छ। मौसमी भविष्यवाणी गर्नेहरुले भारी वर्षात र बाढीको समेत अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।