एजेन्सी – इरानले मङ्गलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशङ्काबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ।
“इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ”, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ।
इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिएका हुन्। इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो।
सोमबार एउटा आधिकारिक बयानमा अराघचीलाई उद्धृत गर्दै इरानले क्षेत्रमा युद्ध नचाहेको बताएको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानका तेल प्रतिष्ठानहरूमा आक्रमण नगर्न सावधान गराएका थिए। इरान विश्वका शीर्ष १० कच्चा तेल उत्पादकमध्ये एक हो।
इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका जनरल रसुल सनाइरदले आइतबार इजरायललाई आणविक वा ऊर्जा केन्द्रहरूमाथि हुने कुनै पनि आक्रमणले ‘चेतावनी स्तर’ पार गर्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।