काठमाडौं– धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको जानकारी दिए। यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो।
आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो। उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन।
प्रहरीले पृथ्वी राजमार्गको नागढुंगादेखि सिम्लेसम्म सम्पर्कविहीन भइरहेका यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिएको छ।
झ्याप्ले खोलामा उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरीहरूका अनुसार झ्याप्ले खोलामा कति गाडी र कति यात्रु परेका छन् भन्ने यकिन भइसकेको छैन।
नागढुंगा र सिम्ले क्षेत्रमा सम्पर्कमा आएका तर रातिका समयमा पहिरोमा परेर सम्पर्कविहीन भएका यात्रुहरू छन् भने खोजी भइरहेको प्रहरीको भनाइ छ। झ्याप्ले खोलामा भेटिएका शवहरू महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको पनि प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पुरिएका माइक्रो तथा बसहरू निकाल्ने काम भइरहेको छ। जाममा परेका यात्रु बोकेका गाडीहरू झ्याप्ले खोलामा पुरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।