एजेन्सी– इजराएलको आक्रमणमा लेबनानमा एकैदिन झन्डै पाँच सय जनाको मृत्यु भएको छ।
इजरायलले गत मंगलबारदेखि हिजबुल्लाहविरूद्धको कारबाही भन्दै लेबनानमा विभिन्न तरिकाको आक्रमण गर्दै आएकोमा सोमबारको आक्रमणमा एकैदिन ४९२ जनाको मृत्यु भएको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन्। इजरायलको उक्त आक्रमणलाई सन् २००६ को इजरायल-हिजबुल्लाह युद्धयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ।
हिजबुल्लाहले पनि सोमबार इजरायलका उत्तरी भूभागहरूमा रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यद्यपि क्षतिबारे भने खुलाइएको छैन। इजरायलले लेबनानमा गरेको आक्रमणप्रति कतार र इजिप्टले निन्दा गरेको छ। यसले मध्यपूर्वमा क्षेत्रीय युद्धको खतरा निम्त्याएको भन्दै इजरायललाई संयम रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।