काठमाडौं – स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेकी छिन्।
चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई स्तब्ध बनाउँदै स्वर्ण जितिन्। यो हारमा नेपाली करातेलाई एसियाली स्तरमा पहिलो स्वर्ण दिलाउने सुनौलो मौका एरिकाले गुमाएकी छिन्।
उनले प्राप्त गरेको रजत ऐतिहासिक हो। एसियन कराते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले जितेको यो पहिलो पदक हो। यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन।
च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पक्का गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।