काठमाडौँ- सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) का दिन आज नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
यसै अवसरमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदिबहिनीलाई शुभकामना व्यक्त गरेका छन् । 'यस पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु', उनले शुभकामना सन्देशमा भनेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।