काठमाडौं– जारी एन्फा महिला लिगमा नेपाल सशस्त्र प्रहरी बलको टिम एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। आइतबार कर्णाली प्रदेशलाई भारी गोल अन्तरले हराउँदै एपिएफ शीर्षस्थानमा उक्लिएको हो।
एपिएफको फराकिलो जितमा रश्मीकुमारी घिसिङको नाममा व्यक्तिगत दुई गोल रह्यो। सातदोबाटोस्थित एन्फामा आइतबार कर्णाली प्रदेशमाथि ६–० को सजिलो जित हाथ पारेको हो।
जितसँगै एपिएफले अपराजित यात्रालाई निरन्तरता दिँदै पाँच खेलबाट १३ अंक जोडेको छ। नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबलाई पछाडि धकेल्दै एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ।
पुलिसको ११ र आर्मीको १० अंक छ। कर्णालीको भने यो लगातार चौथो हार हो । पाँच खेलबाट मात्र एक अंक जोडेको कर्णाली तालिकाको नवौं स्थानमा यथावत् छ।
एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन्। निशा थोकर, गीता रानामगर र हेमा रावतले समान एक गोल गरे। यस्तै एक गोल भने एपिएफले उपहार पाएको थियो।
खेलको चौथो मिनेटमै निशाको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। ११ र २५औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन्। जारी लिगमा रश्मिको यो चौथो गोल हो।
५३औं मिनेटमा गीताले पेनाल्टीमार्फत अर्को गोल थपिन्। उनले पेनाल्टीमार्फत गरेको यो दोस्रो र समग्रमा तेस्रो गोल हो। ७७औं मिनेटमा हिमा रावतले गोल गर्दा ९०औं मिनेटमा वर्षा ओलीले आफ्नै पोस्टमा गोल गर्दा एपिएफले अपराजित यात्रा कायम राख्न सफल बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।