काठमाडौं– बर्दियाको चेपाङमा बबई नदीले र चिसापानी पुलमा कर्णाली नदीले खतराको तह नाघेको छ। बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई तथा कर्णाली नदीको सतह बढेको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको हाईड्रोलोजीका अनुसार समाचार तयार पारुञ्जेल बर्दियाको चेपाङमा बबई नदीको सतह ७ दशमलव २१ मीटर पुगेको छ।
चेपाङमा ५ दशमलव ५० मीटर चेतावनी र ६ दशमलव ८० मीटर पानीको सतहलाई खतराको तह मानिन्छ। चेपाङमा नदीको सतह घट्दो क्रममा भएपनि गुलरिया स्थित भादा पुलमा नदीको सतह बढ्दो क्रममा छ।
भादा पुलमा नदीको सतह बढ्दो क्रममा ६ दशमलव ६० मीटर पुगेको छ। पुलमा ७ मिटरलाई चेतावनी र ८ मीटर पानीको सतहलाई खतराको तह मानिन्छ। त्यस्तै कर्णाली नदीमा पानीको सतह १० दशमलव ८४ मीटर पुगेको छ।
चिसापानी पुलमा १० मिटर पानीको सतहलाई चेतावनी र १० दशमलव ८ मिटरलाई खतराको तह मानिन्छ। पश्चिमका पहाडी जिल्लाहरूमा वर्षाद भइरहेकोले पानीको सतह थप बढ्ने पूर्वानुमान गरिएको छ।
नदीले खतराको तह नाघेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारीगर्दै नदी तटीय क्षेत्रका स्थानियहरुलाई सुरक्षित रहन आग्रह गरेको छ। बाढीबाट जोखिम हुन नदिन पूर्व तयारीसहित सबै तहका सुरक्षा निकायलाई अलर्ट राखिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।
जलाशय बढीरहेको अवस्थामा माछा मार्न,काठ दाउरा निकाल्न नदीमा नजान स्थानीयलाई अनुरोध गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।