काठमाडौं – बागलुङमा बिहान भएको गाडी दुर्घटनामा मृत्यु हुनेमा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको प्रहरीले जनाएको छ् ।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए ।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताए । ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने ।
उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए । तर कोको थिए भन्ने खुलेको छैन ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ताअघि काठमाडौं आएकी थिइन् । काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको जानकारी पाएको प्रजिअ शर्माले बताए ।
अप्ठेरो भिरमा गाडी दुर्घटना भएकाले उद्धारमा कठिनाइ हुदा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि खटाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।