काठमाडौं– इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ।
मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन्। इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा आक्रमण गरेका थिए। आक्रमणबाट शिविर र नजिकको दुई वटा घरमा क्षति पुगेको छ।
आक्रमणबाट प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यु.एन.आर.डब्ल्यू.ए.) मा कार्यरत कर्मचारीहरु पनि मारिएका हुन्।
गत अक्टुबरमा इजरायल र हमासबीच लडाइँ सुरु भएपछि संयुक्त राष्ट्रसंघका सबैभन्दा धेरै कर्मचारीहरु मारिएको यो पहिलो घटना हो।
इजरायली सेनाले भने अल जाउनी स्कुल भित्रबाट आक्रमणको योजना बनाउने आतंकवादीहरुमाथि सटिक हमला गरेको जिकीर गरेको छ। उसको दाबी के पनि छ भने आक्रमणबाट सर्वसाधारणको कमभन्दा कम क्षति होस् भनेर पर्याप्त ध्यान राखिएको थियो।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले इजरायलको आक्रमणको निन्दा गरेका छन्। शरणार्थीहरु बसेको स्कुलमा गरिएको आक्रमण असह्य भएको भन्दै उनले इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको समेत बताएका छन्। यस्ता आक्रमण रोक्न उनले अनुरोध समेत गरेका छन्।
राष्ट्रसंघका अनुसार उक्त स्कुल १२ हजारभन्दा बढी शरणार्थीहरुको आश्रय स्थल हो। उक्त स्कुलमा ११ महिनाको बीचमा पाँचपटक आक्रमण भइसकेको छ। तर बुधबारको आक्रमण सबैभन्दा ठूलो हो। त्यही स्कुलमा यसअघिको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।