काठमाडौं– काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टि भएको छ। प्रहरीले महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका०३ बस्ने ४० वर्षीय राम बिनय महरा र सर्लाही बसगरिया गाउँपालिका ५ घर भई हाल बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।
गत बिहीबार सुन्दरीजलमा ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा महिलाको शव भेटिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले महिला साथबाट एकिन नाम थर वतन खुल्ने विवरण तथा कागजात केही फेला परेको थिएन।
विभिन्न प्राविधिक पक्षहरु तथा मानवीय सूचनाहरुको विश्लेषण गरी अनुसन्धान गर्दै जाँदा उक्त घटनामा सलंग्न भएको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
हत्या गरिएको महिलाको पहिचान भने खुलेको छैन। उनी सिराहा घर भई हाल बसुन्धारा बस्दै आएकी राम दुलारी भन्ने बुझिएको छ। एसपी अधिकारीका अनुसार हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।