काठमाडौं– बर्दियामा पर्यटक घुमाउन लगेका एक गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ। अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन्।
सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैँडालाई आक्रमण गरेको प्रहरीले जनाएको छ। स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैँडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा परेका थिए।
विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको मृत्यु भएको हो। गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा पथ प्रदर्शक ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक प्रवीण धितालले जनाएका छन्।
यसै गरी गैँडाको आक्रमणमा अमेरिकन पर्यटक एमसी सावन र उक्त वनको चौकीदार खिन्चु थारु घाइते भएको प्रहरीको भनाइ छ।
उनीहरूलाई ठाकुरबाबास्थित नगर अस्पतालमा उपचारका लागि पठाइएको छ। चौधरीको अवस्था सामान्य भए पनि अमेरिकन पर्यटकलाई गम्भीर चोट लागेको छ।
शुक्रवार बिहान ८ बजेतिर सो घटना भए पनि प्रहरी, निकुञ्ज प्रशासनको प्रक्रिया मिलाउँदा सूचनामा ढिलाइ भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।