काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्। साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए। सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
पलेसाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ‘के–४४’ विधाअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेका थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।