महेन्द्रनगर– गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका छन्। बुधबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री लेखकले तिंकरमा अध्यागमन कार्यालय खोल्ने बताएका हुन्।
मन्त्री लेखकले तिंकर नाका भएर मानसरोवरसम्म जाने धार्मिक पर्यटकलाई भित्र्याउनका लागि कार्यालय खोल्न लागेको बताए। ‘सरकारले कार्यालय खोलिदिन्छ, व्यवसायीले त्यहाँसम्म जाने वातावरण बनाउनुपर्छ,’ मन्त्री लेखकले भने, ‘धनगढीदेखि सीधै तिंकरसम्म हेलिकप्टर लिफ्ट गराउनुपर्ने हुन्छ।’
मन्त्री लेखकले असोज दोस्रो साताभित्रै तिंकरमा अध्यागमन कार्यालय उद्घाटन गर्ने बताए। ‘मैले देशका तीन स्थानमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छु,’ उनले भने, ‘भारतसँगको बेलिया, चीनसँगको तिंकर र मस्ताङ पोरलाका छिट्टै नाका खोल्छौँ।’
मन्त्री लेखकले एक सय दिनमा गर्ने कामअन्तर्गत आफूले तिंकर नाकासहित तीन स्थानमा अध्यागमन कार्यालय खोलेर पर्यटक भित्र्याउने योजना राखेको बताए। मन्त्री लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाकै रूपमा विकास गर्नका लागि दोधाराचाँदनीमा छिट्टै सुक्खा बन्दरगाह निर्माण कार्य अघि बढ्नेसमेत बताए।
‘अब रुख हटाउने काम मात्रै बाँकी छ,’ मन्त्री लेखकले भने, ‘रुख हटाएसँगै काम अघि बढ्छ, तीन भित्रभित्रै सुक्का बन्दरगाह निर्माण गर्न सके देशकै महत्त्वपूर्ण नाकाको रूपमा अघि बढ्छ।’
मन्त्री लेखकले आर्थिक वृद्धि विकासका लागि छोटी भन्सार पुनर्स्थापना गरिनेसमेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।