विराटनगर– चार दिन अघि मृत नाबालिग छोरीहरूलाई छाडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन्।
आमा बेपत्ता हुँदा आमाले नै छोरीहरूलाई विष खुवाएर हिँडेको आशङ्का गरिएको थियो। मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र २ नाबालिग मृत फेला परेका थिए।
नाबालिग मृत फेला परेको ५ दिनपछि आमा अस्वस्थ अवस्थामा बिर्तामोडमा फेला परेको मोरङ प्रहरीले जनाएको छ। शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगरस्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ।
घरमा श्रीमानसँग विवाद भएपछि आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिग छोरी गत शनिबार दिउँसो मृत फेला परेका थिए। अस्मिता सुन्दरहरैँचा–७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन्।
कार्कीका नाबालिगहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।