काठमाडौं- काठमाडौंको विष्णुमति नदीले जलसतह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले मङ्गलबार रातिसम्म नदीको जलसतह बढ्दो रहेकाले सतर्कता अपनाउनु आग्रह गरेको हो।
'विष्णुनदीको जलसतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई उच्च सतर्कता अपनाउनु अनुरोध गरिएको छ', विभागद्वारा जारी सूचनामा भनिएको छ।
विभागले बाराको कलैया र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले पसाह, लालबकैया खोलालगायत सो क्षेत्र भइ बहने अन्य खोलाको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ।
त्यसैगरी सिन्धुलीको कमलानदी रानीबासस्थित जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो रहेको उल्लेख गर्दै विभागले तटीय क्षेत्र तथा डुबान भइरहने भू–भागहरुमा रहनेलाई बुधबार विहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आज कोशी, बागमती र गण्डकी प्रदेश भइ बहने केही स–साना नदीहरुमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ। साथै आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने र राति कोशी, मधेस र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।