काठमाडौं- नेपालमा सिमेन्ट ढलान निर्माण प्रविधिका ‘पायोनियर’ वेदप्रसाद लोहनीको सम्झनामा स्थापना भएको ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’ बाट इन्जिनियर अश्विन वली सम्मानित भएका छन्।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकबाट २०७९ सालमा एमएस्सी, स्ट्रक्चरल इन्जिनियरिङमा वलीले उत्कृष्ट अंक प्राप्त गरेका थिए। कोरोना र विभिन्न प्राविधिक कारणले बीचमा यो अवार्ड वितरण कार्यक्रम रोकिएको थियो।
तर, सोमबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आयोजित विशेष कार्यक्रममा वलीलाई यस वर्षको अवार्डबाट सम्मानित गरिएको हो। वली हाल अमेरिकामा पीएचडी गर्दैछन्। त्यसैले उनको सम्मान माता–पीताले थापेका थिए।
यस अवसरमा कलेजका पूर्वदेखि वर्तमान प्रोफेसर तथा डिनहरूको उपस्थिति रहेको थियो। ‘वेदप्रसाद लोहनी स्वर्ण पदक’ समितिका अध्यक्ष प्राड सुशीलबहादुर बज्राचार्य, पुल्चोक क्याम्पसका निमित्त डिन विनोदकुमार भट्टराई उपस्थित रहेको कार्यक्रममा स्वर्गीय वेदप्रसाद लोहनीको चर्चा भयो।
यस अवसरमा लोहनीका छोरा वसन्त लोहनीले आफ्नो बुवाको बारेमा रोचक प्रसंग सुनाएका थिए। सिमेन्ट ढलानबाट नेपालमा पहिलो भवन त्रिचन्द्र क्याम्पसको सरस्वती भवन निर्माण भएको थियो। यसका योजनाकार र निर्माता वेदप्रसाद थिए। उनकै कारण नेपालमा सिमेन्ट ढलानमा क्रान्ति आएको थियो। उनले नेपालमा मात्र होइन, भारतमा समेत सिमेन्ट ढलानबाट भवनहरू निर्माण गरेका थिए।
नेपालमा इन्जिनियरिङ अध्ययनलाई संस्थागत गर्न पनि वेदप्रसादको ठूलो योगदान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।