गाजा- गाजाको सुरुङमा मृत भेटिएका ६ जना इजरायली बन्धकमध्ये केहीलाई युद्धविराम सम्झौता भएको अवस्थामा रिहाइका लागि ‘स्वीकृत’ गरिएको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन्।
यस विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफूलाई नभएको भन्ने ती अधिकारीले नाम नबताउने सर्तमा भने, ‘इजरायली पक्षले फेला पारेका कैदीहरूको केही नामहरू घोषणा गरिएको छ। इजरायलमा रहेका प्यालेस्टिनी कैदीहरूका लागि प्रस्तावित आदानप्रदानका लागि हमासले अनुमोदन गरेको बन्धकहरूको सूचीमा उनीहरू पनि थिए।’
इजरायली सेनाले दक्षिणी गाजा पट्टीको सुरुङमा भेटिएका एक अमेरिकी मुलका इजरायली र एक रूसी मुलका इजरायलीसहित ६ जना बन्धकको शव पहिचान गरेको आइतबार जनाएको छ।
उनीहरुको अवशेष शनिबार ‘रफाह क्षेत्रको भूमिगत सुरुङबाट’ फेला परेको र तिनको औपचारिक रुपमा पहिचान गरिएको इजरायली सेनाले जनाएको छ।
गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले कब्जामा लिएका कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्श गोल्डबर्ग–पोलिन, अलेक्जेन्डर लोबानोभ, अल्मोग सारुसी र ओरी डानिनोको शव पहिचान गरिएको हो।
-एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।