एजेन्सी-मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछा हटाउन एक महिना सङ्कटकालको घोषणा गरिएको छ।
एथेन्स समाचार एजेन्सीका अनुसार नागरिक सुरक्षामामिला मन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणा गरेका हुन् । यस अवधिमा पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाइनेछ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन्।
एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो । बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो ।
गत शरद ऋतुमा ड्यानियल र एलियासको आँधीबेहरीपछि थेस्सालीको लगभग २० हजार हेक्टर समथर भूमिमा बाढी पसी व्यावसायिक रूपमा पालेका स्वच्छ पानीका माछालाई नदीहरूले समुद्रमा लगेका थिए। अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ ।
मङ्गलबार मात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारका ५७ टन मरेका माछा हटाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।