काठमाडौँ- ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ। दीपक रौनियार निर्देशित सिनेमाको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा देखाइएको छ ।
सोसल ड्रामा तथा एक्सन सिनेमाको ट्रेलरमा अभिनेत्री आशा मगरातीलाई प्रमुख स्थान दिइएको छ। उनी यो सिनेमाकी मुख्य पात्र हुन्।
सिनेमाको टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकारलाई देख्न सकिन्छ।
उनीहरुका अलावा सिनेमामा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।
‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि निर्देशक रौनियारको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो।
भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको सिनेमाको वितरण अधिकार बिक्री भैसकेको जानकारी निर्माण टिमले दिएको छ ।
निर्देशक रौनियारको पहिलो फिचर सिनेमा ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो।
अर्को सिनेमा ‘ह्वाइट सन्’ सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर सिनेमा महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो। उनको छोटो सिनेमा ‘फोर नाइट्स’ सन् २०२२ मा बर्लिनेल सट्र्समा प्रिमियर भएको थियो।
‘राजागंज : पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ। प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका कलाकार भेनिस जाने बताइएको छ।
यो सिनेमाले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ।
यो सिनेमा निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।