काठमाडौँ-साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन् । सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन् ।
सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बङ्गलादेशले भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो । फाइनल खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ ।
मङ्गलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि आफूहरू तयार भएको बताए । नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले दुवै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए। बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल यात्रासम्म आइपुग्दा उतारचढाव बेहोरे पनि फाइनलका लागि तयार रहेको बताए ।
बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो । तर दुवै पटक भारतसँग फाइनलम पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बंगलादेश उपविजेता बनेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।