काठमाडौं- नक्कली डाक्टर बनेर बिरामीलाई ठगी गरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ।
आफू स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार उक्त मुद्दा दायर गरेको छ। यो मुद्दामा प्रहरीले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो।
उनी एक वर्षसम्म पक्राउ नपरेपछि फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। यादवले आफू स्वास्थ्य मन्त्रालयको सचिव र न्यूरोको डाक्टर हुँ भन्दै बिरामीलाई ठगी गरेको प्रहरीको भनाइ छ।
उनले अमेरिका जान बिरामीका साथै कुरुवाको समेत भिसा मिलाइदिने प्रलोभन देखाएर खगी गरेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराधसंहिताको दफा २४९ अन्तर्गत ठगी गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ। ठगीको कसुरमा ७ वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना र ठगी बराबरको बिगो भराउनुका साथै क्षतिपूर्ति समेत दिनुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।