काठमाडौँ- कृष्ण जन्माष्टमीको अवसर पारेर बनेपामा आयोजना भएको ‘कन्या पूजा’मा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडलद्वय कुसुम शर्मा र विजु पार्की सहभागी भए। ‘कन्या पुजा सनातन गुठी’ले हरेक वर्ष कृष्णाष्टमीको अवसर पारेर यो कार्यक्रमको आयोजना गर्दै आएको छ।
१० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको उक्त कार्यक्रममा फिल्म ‘वर एण्ड वधु’का मुख्य कलाकारहरुले ‘कन्या पूजा’ गरे। सो अवसरमा फिल्मका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए।
हरेक वर्ष आयोजना हुने ‘कन्या पूजा’मा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुसी र आनन्द लागेको नायिका आँचल शर्माले बताइन्। करिब एक घन्टा भन्दा बढी समय कन्याहरुलाई कापी र बिस्कुट वितरण गरेकी आँचलले निकै नै हर्षित भएको अनुभव सुनाइन्।
यस्तै, फिल्मका नायक विवेक कर्माचार्यले आफूले विगत ४ वर्षदेखि निरन्तर रुपमा ‘कन्या पूजा’मा आएर विभिन्न कुराहरु दान गर्ने गरेको सुनाए।
भदौको १४ गते अर्थात् शुक्रबारदेखि रिलिजमा आउन लागेको यो फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। जानुका थापाको लगानी रहेको फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन्। फिल्मको ट्रेलर र गीतसंगीतलाई दर्शकले रुचाएका कारण पनि बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ।
एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ। ‘कन्या पूजा’को अवसरमा फिल्मको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।