काठमाडौं– इन्जुरी समयमा एक गोल गर्दै डिफेन्डिङ च्याम्पियन भारत साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
तर भारतले फाइनल प्रवेशका लागि यसपटक बंगलादेशलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको छ। गत संस्करणमा यी दुई टिम नै उपाधिका लागि भिडेका थिए।
उक्त संस्करणमा पेनाल्टीमा हराउँदै भारतले उपाधि चुमेको थियो। तर यसपटक भने फाइनल प्रवेशकै लागि भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ।
समूह बी अन्तर्गतको आज भएको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। भारतका लागि बराबरी खेले पनि सेमिफाइनल प्रवेश तय थियो। तर माल्दिभ्सलाई भने भारतलाई हराउनैपर्ने बाध्यता थियो।
निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल नभएपछि थप गरिएको पाँच मिनेटमध्ये अन्तिम मिनेटमा भारतले गोल गर्दै माल्दिभ्सलाई प्रतियोगिताबाट बाहिर पठाएको हो।
बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर, नेपालसँग भने बंगलादेश २–१ ले पराजित हुँदै समूहको उपविजेता बन्यो। यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो।
भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। यसका साथै नेपालले फाइनल प्रवेशका लागि भुटानसँग सेमिफाइनल खेल्ने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।