एजेन्सी-भारतको राजधानी नयाँदिल्लीका विभिन्न सपिङ मलहरूमा बम आक्रमणको धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
दिल्ली प्रहरीकाअनुसार चाणक्य मल्ल, सेलेक्ट सिटीवाक, एम्बियन्स मल, डीएलएफ, सिने पोलिस, प्यासिफिक मल, प्राइमस अस्पताल र युनिटी समूहलाई केही समयमा बम विस्फोट हुनेछ भनी धम्की पत्र प्राप्त भएको थियो ।
सूचना प्राप्त हुनेबित्तिकै मलका अधिकारीहरूले दिल्ली प्रहरीलाई जानकारी दिएको जनाइएको छ । दिल्ली प्रहरीले जानकारी पाएलगत्तै अनुसन्धान थालेको थियो । घटनास्थलमा बम डिस्पोजल टोली र दमकल पुगेको थियो ।
प्रहरीले धम्कीबारे अनुसन्धान गरिरहेको छ ।
गुरुग्रामको एम्बियन्स मलमा अगस्ट १७ मा बम आक्रमणको धम्की प्राप्त भएको थियो । तर खोजीका क्रममा कुनै संदिग्ध वस्तु फेला नपरेको गुरुग्राम प्रहरीले जानकारी दिएको छ । गुरुग्राम प्रहरीले सामाजिक सञ्जालमा कुनै पनि पोस्ट वा इमेलमार्फत भ्रामक बम धम्की वा गलत जानकारी दिएको पाइएमा कानुनी कारबाही गरिने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।