काठमाडौँ-सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् ।
श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन (जनैपूर्णिमा) का अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, 'धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने विश्वास लिँदै यस पर्वले कर्मक्षेत्रमा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेको छु ।'
रक्षाबन्धन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको र यस पर्वलाई पारिवारिक मेलमिलाप बढाउने उत्सवको रुपमा लिइने उनले उल्लेख गरेका छन् । रक्षाबन्धनमा हिन्दू ब्राम्हण तथा क्षेत्रीय पुरुषले परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाएर मनाउने पर्व भए पनि नेपालमा धेरै धार्मिक समुदायले यसलाई श्रद्धापूर्वक मान्ने गरेको पाइन्छ ।
'हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक हो । नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको छ । कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य हो', शुभकामना सन्देशमा भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।