काठमाडौं– साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले जित निकालेको छ। पहिलो खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले पहिलो हाफमा गरेको एक गोलले नै जित निकाल्यो।
ए डिभिजनको अनुभव बोकिसकेका फरवार्ड निरञ्जन धामीको गोलमा नेपाल विजयी भएको हो। खेलको २४ औं मिनेटमा निराजनले नेपालका लागि गोल गरेका हुन्। समिर तामाङले थ्रो इन बाट आएको बललाई पेनाल्टी क्षेत्रभित्र खेल्दा श्रीलंकाली डिफेन्डरले क्लियर गर्न सकेनन्। त्यसै बललाई नियन्त्रणमा लिँदै निराजनले सुन्दर फिनिस गरे।
पहिलो हाफको इन्ज्युरी समयमा श्रीलंकाका मिहम्द थिल्हमले गरेको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाएका थिए। ६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्। नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।