एजेन्सी- गाजामा युद्धविराम र हमासको नियन्त्रणमा रहेका बन्धकहरूको रिहाइका सम्बन्धमा कतारको दोहामा नयाँ चरणको वार्ता शुरु भएको छ ।
यद्यपि वार्तामा कुनै सफलताको अपेक्षा कम रहेको जनाइएको छ । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले प्रस्तावित सम्झौताको कार्यान्वयनका पक्षमा सहमति जुटाउन धेरै काम गर्न बाँकी रहेको बताएका छन् । हमासले दोहामा शुरु भएको अप्रत्यक्ष वार्तामा भाग नलिने बताएको छ, यद्यपि मध्यस्थकर्ताहरूले दोहामै रहेका उसका अधिकारीहरूलाई सन्देशहरू पठाइरहेको जनाइएको छ ।
हमासले अमेरिकी राष्ट्रपति जो बाइडनले अघि सारेको प्रस्तावमा आधारित रहेर सम्झौताको मार्गचित्र तयार गर्न माग गरेको छ । उसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्झौतामा नयाँ सर्तहरू थपेको आरोप समेत लगाएको छ । नेतन्याहुले भने सो आरोपलाइ अस्वीकार गरेका छन्।
हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहको गत महिना तेहरानमा हत्या भएपछि वार्ता स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।