खाँदबारी (सङ्खुवासभा)- सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन् । पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताए । पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उनले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्ने बताए ।
कोशी राजमार्गको मोटरबाटो गगनेदेखि रमिते गाउँ हुँदै लगिएको छ । एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ । गाउँमाथिबाट ट्रयाक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएकाले माटो धस्सिएर पहिरो बगिरहेको रमितेका स्थानीयले बताएका छन् ।
गाउँमा पहिरोका जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर बज्राचार्य नेतृत्वमा खाँदबारी–५ का वडाध्यक्ष टङ्कबहादुर घिमिरे र खाँदबारी–४ का कार्यवाहक वडाध्यक्ष पवित्रा गुरुङलगायत नगरका टोलीले स्थलगत अवलोकन गरेको छ ।
पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुङ्गा फुटाउने आश्वासन दिए । केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ । गतवर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयासस्वरूप तारजाली लगाइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।