काठमाडौं-चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा आज भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।
राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइज एक महिनादेखि अभ्यासमा छ । चर्च ब्वाइजमा अधिकांश राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् भने ३ मात्र विदेशी खेलाडी छन्।
यस्तै किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा जापानी स्टार केसुके होन्डा मुख्य केन्द्रविन्दुमा छन् । पारोमा होन्डासहित ११ विदेशी खेलाडी टिममा छन् ।
हिजो आयोजित प्रिम्याच कन्फरेन्समा चर्च ब्वाइजका मुख्य प्रशिक्षक बागोपाल महर्जनले आफूहरुले शतप्रतिशत दिएर खेल्ने बताएका छन् । पारोका प्रशिक्षक पुष्पलाल शर्माले पनि टिममा वर्ल्ड क्लास प्लेअर रहेपनि टिम बन्डिङ र टिम कोअर्डिनेसन महत्वपूर्ण हुने भन्दै चर्च ब्वाइजविरुद्धको खेल गाह्रो हुने बताएका थिए ।
उनले पछिल्लो पटक नेपालमा खेल्न आउँदा मछिन्द्र एफसीसँग पराजित भएपनि यस पटक नतिजा सुधार गर्ने लक्ष्य रहेको बताएका छन् । च्यालेन्ज कप प्लेअफको विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।