हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले करको दायरा वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघको हिजो साँझ बसेको कार्यसमिति बैठकले पाँच दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको हो ।
७ असारमा भएको उपमहानगरको १५ औं नगर सभाले राजश्व दरमा वृद्धि गर्ने निर्णय गरेको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो ।
एक साताअघि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघलगायतले कर वृद्धिको निर्णय फिर्ता लिन माग गरेका थिए । उपमहानगरलाई ध्यानाकर्षण गराउँदा समेत २५ गतेको कार्यपालिका बैठकले मागको सम्बन्धमा चासो नदेखाएकाले आन्दोलनको घोषणा गर्न बाध्य भएको संघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।